१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुद्धस्थल तिलौराकोटको सौन्दर्यकरण शुरु



हरि अधिकारी, कपिलवस्तु ।
बुद्धको क्रिडास्थल समेत रहेको प्राचिन कपिलवस्तु तिलौराकोट राजदरबार घासैघाँस र झाडीले भरिभराउ भएपछि तिलौराकोटमा सरसफाईको काम शुरु गरिएको छ । राजा शुद्धोधनको राजदरबार तिलौराकोट घासैघाँस र झाडीले भरिभराउ भएपछि सुन्दरीकरणमा जोड दिइएको छ । गौतमबुुद्धले २९ वर्ष विताएको ऐतिहासिक तथा पुरातात्विक स्थल तिलौराकोट क्षेत्रको सुन्दरता विग्रिदै गएपछि सरसफाईमा जोड दिइएको हो ।

१ सय ३६ बुद्ध स्थलहरुको पहिचान भइसकेको कपिलवस्तुको विकास भने निकै पछाडि परेको कोषले स्वीकारेको छ । लुम्बिनी विकास कोषले पहिलो चरणमा कपिलवस्तुको तिलौराकोट, कुदान, गोटिहवा र निग्लीहवाको सौन्दर्यकरण र व्यवस्थापन गर्ने योजना रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यले जानकारी दिनुभएको छ । उहाले सवै निकायसंग समन्वय गरेर तिलौराकोटको झाडी सरसफाईमा निरन्तरता दिने बताउनुभयो ।

धार्मिक तथा ऐतिहासिक महत्व संगै पर्यटकीय क्षेत्र रहेको कपिलवस्तुको गौरब तिलौराकोटको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल तथा नेपाली सेना गरी एकसय सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताउनुभयो । उहाले जिल्लाको शान्ति सुरक्षामा प्रहरी परिचालन गरिने हुनाले दैनिक सरसफाईमा जनशक्ति परिचालन गर्न नसकिने बताउनुभयो ।

धार्मिक तथा पुरातात्विक महत्व बोकेको तिलौराकोटको विकास नहुँदा स्थानीयबासी चिन्तित छन् । लुम्बिनी विकास कोषले लुम्बिनीलाई मात्र विकास गर्दा कपिलवस्तुको तिलौराकोट ओझेलमा परेको स्थानीय पर्यटक सुनिता गिरीले दुखेसो पोख्नुभयो ।

शाक्यमुनि बुद्धहरुको राजधानी रहेको कपिलवस्तुको तिलौराकोट आझेलमा परेको बताउदै नेपाल सरकार र लुम्बिनी विकास कोषले तिलौराकोटको विकासमा ध्यान नदिएको प्रदेश साँसद धर्म बहादुरलाल श्रीवास्तवको गुनासो छ । उहाका अनुसार भारतीय सरकारले कृतिम रुपमा प्राचिन कपिलवस्तु भनेर सिमा क्षेत्र नजिकै अलिगढवाको पिपरालाई बुद्धको प्रचार प्रसार गरिरहदा नेपाल सरकारले तिलौराकोटको उपेक्षा गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  १ : ४० बजे