१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शुद्धोधन जिल्लाकै पहिलो पूर्ण भर्ना गाउँपालिका घोषणा



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना तथा साक्षर गाँउपालिका घोषणा गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा शुद्धोधन गाउँपालिका पहिलो पूर्ण भर्ना तथा साक्षर गाउँपालिका घोषणा भएको हो ।
आज बाल दिवसको अवसर पारेर एक समारोहका बीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका घोषणा गर्नुभएको हो । ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि पूर्ण भर्ना गाँउपालिका घोषणा गरिएको बताउनुभयो । सबैको साथ सहयोगले जिल्लाको पहिलो पूर्ण भर्ना गाउँपालिका बनाएका बताउदै अब विद्यालयमा विद्यार्थी टिकाउने गरी दिर्घकालिन योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पूर्ण भर्ना घोषणा समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले अरु स्थानीयतहले पनि समयमै पूर्ण भर्ना तथा पूर्ण साक्षर घोषणा गरेर शुद्धोधन गाउँपालिकाबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय समितिका प्रमुख बाबुराम भट्टराईले शुद्धोधन गाउपालिकाले समयमै पूर्ण भर्ना गाउँपालिका नै घोषणा गरेर उदाहरणीय काम गरेको बताउनुभयो । गाउँपालिका पूर्ण भर्ना भएपनि विद्यालयमा विद्यार्थी टिकाउने गरि काम गर्न उहाले सुझाव दिनुभयो ।
गाउँपालिका तथा संघसंस्थाले घरदैलो कार्यक्रम संचालन तथा भर्ना हुन नसकेका घरपरिवारका बालबालिकालाई आर्थिक सहयोग गरेपछि पूर्ण भर्ना गाउँपालिका बनाउन सफल भएको हो ।
५ देखि १२ वर्ष उमेर समुहका ६ हजार २ सय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । सवै बालबालिका विद्यालयको पहुँचमा पुगेको शुद्धोधन गाउँपालिकाका शिक्षा प्रमुख टिकाराम पौडेलले पूर्ण भर्ना गाउँपालिकाको प्रतिवेदन सुनाउनु भएको थियो ।
सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यले सामाजिक संघ संस्थाले यस अभियानमा सघाएको भन्दै अझै दीर्घकालीन रुपमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
सोही अवसरमा एसईई परिक्षामा गाउँपालिकामै उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई नगद पाच हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
सुद्धोधन गाँउपालिकामा सामुदायिक, संस्थागत र मदरसा गरी ५७ विद्यालयका १२ हजार ४ सय ४ विद्यार्थी रहेका छन् । साविक ६ ओटा गाविस मिलेर बनेको शुद्धोधन गाउँपालिका भित्रका सबै वडा दुई बर्ष पहिला नै पूर्ण साक्षर घोषणा भैसकेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  २ : ३३ बजे