१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नं ५ का सरकारी टोलीद्वारा कृष्णनगरका मदरसाको अवलोकन



इमरान खान, कपिलवस्तु ।
प्रदेश नं ५ सामाजिक सामाजिक विकास मन्त्रालयको सरकारी टोलीले कपिलबस्तु जिल्ला कृष्णनगर नगरपालिकामा रहेका मदरसा अवलोकन गरेका छन । नगरपालिका भित्र रहेका सिराजुलउलुम अलसल्फिया, श्री जैदबिन, आयसा सिद्दीकिया गल्र्स कलेज, अलहेलाल पब्लिक स्कूल, खतिजुलकुबरा गल्र्स कलेजको सरकारी टोलिले निरीक्षण अवलोकन गरेका हुन । मन्त्रालयका सचिव पुष्कर राज पन्थ र उपसचिव थानेश्वर ज्ञवाली र हरिहर घिमिरेको टोली सँगै कृष्णनगर नगरपालिकाका शिक्षा बिभागका निरिक्षक रामकरन पाल, उपमेयर शबनम खातुन, शसस्त्र प्रहरी का डिएसपी मनोज कुमार धिताल, सरफर बिद्यालयका प्रधानाध्यापक प्रह्लाद प्रसाद पाण्डेय, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय महासचिव मौलाना मसहूद खाँ नेपाली,रामसनेका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, नेकपा माओबादी केन्द्रका युवा नेता तुफेल अहमद खाँ, पत्रकार र शिक्षाप्रेमीहरु ती मदरसाको अवलोकनमा सहभागी थिए ।
राष्ट्रिय गान र कुरानको पाठका साथ कार्यक्रमको शुरुवात गर्दै डा अब्दुल गनी अलकुफीले कृष्णनगरका मदरसा धेरै अघि देखि सञ्चालन भइराखेका र मुस्लिम बालबलिकाको शैक्षिक बिकासमा थप पहल गर्न अग्रसर रहने बताए । त्यसैगरी मौलाना मसहूद खाँ नेपालीले मदरसा शिक्षामा सहयोगको अपिल गर्दै मदरसा सिराजुल उलुम अलसल्फीयालाई बिश्वबिद्यालय बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
मुस्लिम समुदाय शिक्षा क्षेत्रमा पछाडी रहेको, शिक्षालाई समाबेशी बनाउँदै मदरसा शिक्षालाई सरकारी बिद्यालय सरह मान्यता दिनु पर्ने उनको माग थियो। सामाजिक बिकास मन्त्रालयका सचिव पुष्कर राज पन्थले मदरसा शिक्षालाई राष्ट्रीय शिक्षाको मूलधारमा ल्याउन र सरकारी शिक्षा सरह मान्यता दिलाउनका लागि आफूले पहल गर्ने बताए ।
शिक्षक बिद्यार्थीहरुको अनुपातको आधारमा लगानी गर्ने र आ–आफ्नो स्तरबाट शिक्षाको बिकासमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरे । टोलीले पठनपाठनको स्थिति, कक्षा कोठा, बिद्यार्थी संख्या र शिक्षकको अनुपातको जानकारी लिएको थिए ।
त्यस अवसरमा मदरसा सिराजुल उलुम अलसल्फियाका प्र.अ. र मुस्लिम धर्मगुरु हरुले नेपालीमा अनुवाद गरिएको कुरान सरिफ मन्त्रालयका सचिव र उपसचिवहरुलाई कोसेली स्वरुप दिएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : २० बजे