१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किन हुन्न विद्यार्थी रुने कराउने समस्या समाधान ? अब परामर्श शिविर चलाइने



केशर रोका, प्यूठान ।

अमृत जीवन माध्यमिक विद्यालय नारीकोटका छात्राहरुमा रुने, कराउने समस्या समाधान नभएपछि मनोवैज्ञानिक शिविर संचालन गरिने भएको छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका–७ पिपलरुखा स्थित उक्त विद्यालयका १२ जना छात्राहरुमा अझै यस्तो समस्या देखिएको छ ।

आइतबार विद्यालयमा प्रमुख जिल्ला अधिकारी सहित जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरुको अन्तरक्रियाले छिट्टै परामर्श शिविर संचालन गर्ने निर्णय गरेको हो । उहाका अनुसार विद्यार्थी र अभिभावकलाई नै राखेर परामर्श गरिने छ । शिविर संचालनका लागि लाग्ने खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको विद्यालयले जनाएको छ ।

सुुरुमा ४७ जना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । जसमध्ये अधिकांश छात्रा छन् । छात्राहरु भूइँमा लडीबुडी गर्ने, छटपटिने र चिच्चाउने गर्छन् । फाट्टफुट्ट देखिएको समस्या विस्तारै धेरै विद्यार्थीमा सरेको हो । उनीहरु घरमा पनि त्यस्तै गर्ने गरेको अभिभावकहरुले बताएका छन् ।

सामूहिक रुपमा विद्यार्थीलाई परामर्श दिँदा समस्या अझ बढ्नसक्ने भएकाले अलग÷अलग राखेर परामर्श गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । विद्यालयले विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरुलाई विद्यालयमै बोलाउने गरिएको छ । अधिकांश ६ देखि १६ वर्ष उमेर समूहका बालबालिकामा यस्तो समस्या छ ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : ०४ बजे