२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आज तेस्रो दिन पनि यातायात ठप्प, जनजीवन प्रभावित



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सवारी चालकहरुले आज तेस्रो दिन पनि सवारी चलाउने सुरसार गरेका छैनन । त्यसले गर्दा कपिलवस्तु लगायत प्रदेश ५ को जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन् ।
भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाएका थिए ।
असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।
यता नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समितिका केन्द्रीय संयोजक वसन्त शर्माले सरकारले जारी गरेको संशोधित सवारी तथा यातायात व्यवस्था ऐनले चालकलाई अपराधी जस्तो व्यवहार देखाएकाले बाध्य भएर गाडी चलाउन छाडेको बताउनुभयो ।
ऐन संशोधन नभएसम्म आफूहरुले गाडी नचलाउने उहाँले चेतावनी दिनुभयो । संशोधित ऐनले चालकलाई अत्यन्तै पीडित मजदुर बनाएको उल्लेख गर्नुभयो । दसैँ नजिकिँदै गर्दा चालकहरुको आन्दोलनले यात्रुहरुलाई भने मर्का पारेको छ । ऐन संशोधन नभए दसैँ तिहार जस्ता चाडमा पनि आफूहरुले गाडी नचलाउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ३० बजे