१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रहरीको सेटिङमा नदीजन्य पदार्थ चोरी, नियन्त्रण कस्ले गर्ने ?



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । केही दिनयता रातको समयमा नदीजन्य पदार्थको चोरी निकासी बढेको सर्वसाधारणले गुनासो गरेका छन् । वाणगंगा नदीको विभिन्न नाकाबाट रातभर नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् । चोरी हुने नाका वाणगंगा नदीको पुलको उत्तरी जंगल क्षेत्र र दक्षिणी क्षेत्र, बालापुर, कोइली बनगाई लगायतका क्षेत्र रहेको बताइएको छ ।

स्थानीयले पटक पटक चोरी निकासीको बारेमा सम्बन्धित निकायलाई जानकारी दिदै आएपनि कुनै सुनुवाई नभएको स्थानीय कमल खनालले बताउनुभयो । रातभर नदीजन्य पदार्थको उच्च दोहन गर्ने र नदी आसपास संकलन गर्दा समेत नियन्त्रणका कुनै चासो नदिएको उनले बताए । ईलाका प्रहरी कार्यालय पिपराको सेटिङ्गमा नदीजन्य पदार्थको चोरी निकासी हुदै आएको एक स्थानीयले आरोप लगाए । चोरीको विषयमा पटक पटक प्रहरीलाई खबर गर्दा कुनै सुनुवाई नभएको ती स्थानीयको आरोप थियो ।

गत भाद्र ३० गते राती १० बजे खोलामा चोरी निकासी हुन थालेको खवर संचारमाध्यममा सूचना आएपछि इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराइएको थियो । तर इलाका प्रहरी कार्यालय पिपराले चोरी निकासी नियन्त्रण आफुहरुको काम नभएको भन्दै गैर जिम्मेवार अभिव्यक्ती दिएको थियो ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जनशक्ति अभावले रातको समयमा चोरी निकासी नियन्त्रण गर्न नसकिने बताउनुभयो । उहाँले यो काम स्थानीय तहको भएको दावी गर्नुभयो ।

यहि विषय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज कुमार यादवलाई जानकारी दिदा उहाँले चोरी निकासी नियन्त्रणमा नगरपालिकाले सकृयता देखाउनु पर्ने बताउनुभयो । प्रहरीलाई चोरी निकासी नियन्त्रण गर्न आफुले निर्देशन दिएको भन्दै यसमा वाणगंगा नगरपालिकाले पनि समन्वय गरेर जानुपर्ने बताउनुभयो ।
यता एकहप्ता पहिले नदीजन्य पदार्थको चोरी निकासी बढेपछि वाणगंगा नगरपालिकाले केही चासो देखाएको देखिन्छ । वाणगंगा नगरपालिकाको अनुगमन समितिले वाणगंगा नदीक्षेत्रमा चोरी हुने गरेको अनुगमनमा भेटिएको नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनुभयो । अनुगमन समितिले खोला नजिक अवैध रुपमा चोरी निकासी गरी संकलन गरिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

नगरपालिकाको राजश्व फाँटका अनुसार तीन हप्ताको अवधीमा १ लाख ७८ हजार बराबरको नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ । नदी आसपासका विभिन्न क्षेत्रमा अवैध रुपमा डम्पिङ्ग गरी राखिएको सामाग्री नियन्त्रणबाट उक्त राजश्व उठेको राजश्व फाँटका प्रमुख शान्ताराज आचार्यले बताउनुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय पिपराले भदौ अन्तिम सातासम्म चोरी निकासी गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई एकलाख विस हजार बराबरको जरिवाना कटाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १ : ०४ बजे