१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घनश्याम र युवराज माथि फेरी अन्याय !



समाचार टीप्पणी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ५ नम्बर प्रदेश इन्चार्जको जिम्मेवारी शङ्कर पोखरेलले पाउनुभएको छ । तत्कालिन नेकपा एमालेको स्थायी समिति सदस्य समेत रहनुभएका पोख्रेलले नेकपा प्रदेश ५ को इन्चार्ज पाउनुभएको हो । पोख्रेल ५ नं. प्रदेशको मुख्यमन्त्री समेत रहनुभएको छ । यस भन्दा अगाडी प्रदेश इन्चार्जको जिम्मेवारी तत्कालिन एमालेका उपमहासचिव समेत रहनुभएका घनश्याम भुसाललाई दिने हल्ला चलेको थियो । यद्यपि शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पोख्रेललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । नेता भुसाल तत्कालिन एमालेको उपमहासचिव रहे पनि पोख्रेल स्थायी समिति सदस्य मात्र हुनुहुन्थ्यो ।
लुम्बिनी अञ्चलमा तत्कालिन एमालेका पदाधिकारी तहका नेताहरु धेरै थिए । जसमा पार्टी सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट हुनुहुन्थ्यो भने विष्णु पौडेल र घनश्याम भुसाल पार्टी उपमहासचिव हुनुहुन्थ्यो । यद्यपि शंकर पोख्रेल एमालेको ९ औँ महाधिवशेनमा उपमहासचिव पदमा पराजित हुनुभएको थियो । पछि पोख्रेललाई पार्टी स्थायी समितिमा मनोनित गरिएको थियो ।
प्रदेश ५ को इन्चार्जमा मुख्यमन्त्री समेत रहनुभएका पोख्रेल भएपछि राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी उठेको छ । परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवाली, श्रममन्त्रीमा गोकर्ण विष्ट र नेकपाको महासचिवमा विष्णु पौडेलले काम गरिरहनुभएको छ भने शंकर पोख्रेल मुख्यमन्त्री हुनुहुन्छ । तर, भुसाललाई नेकपाले कुनै जिम्मेवारी दिन सकेको छैन । यसले भुसाल माथि ठुलो राजनीतिक प्रतिशोतका कारण अन्याय भएको बुझाई कही पूर्व एमाले कार्यकर्ता माझ छ ।
“भुसाल संगैका सबै पदाधिकारी मन्त्री लगायत अन्य पदमा रहेर काम गरिरहँदा भुसाल माथि किन सधै अन्याय ? भुसाल समर्थित एक जना नेताले प्रश्न गरे । यसपाली पनि उहाँमाथि अन्याय भयो । माधव पक्षधर भएकै आधारमा उहा माथि पटक पटक अन्याय गरिदै आइएको ती नेताले दाबी गरे ।
भुसाल जस्तै पूर्व एमालेका उपाध्यक्ष समेत रहनुभएका पुराना एव्म पाका नेता युवराज ज्ञवाली पनि पार्टीबाट सधै अन्यायमा पर्दै आउनुभएको छ । प्रतिनिधिसभा निर्वाचनको बेला पैसा नभएकै कारण चुनाव लड्न नसकेको अन्तर्रवार्ता ज्ञवालीले विभिन्न मिडियामा दिएपछि राजनीतिक बृत्तमा निकै चर्चा पाएको थियो । नेकपाको सचिवालयमा समेत रहनुभएका ज्ञवाली दाङका हुनुहुन्छ । उहालाई पनि नेकपाले प्रदेशको कुनै जिम्मेवारी दिएको छैन ।
यता प्रदेश सहइन्चार्जको जिम्मेवारी दलबहादुर रानाले पाउनुभएको छ । उहाँ पाल्पाको हुनुहुन्छ । यस्तै पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त हुनुभएको छ । घर्ती र शर्मा पूर्व माओबादी केन्द्र पक्षधरका हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव शुक्रबार टुङ्गो लगाएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  ५ : ५३ बजे