१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवलपरासीका उखु किसान आन्दोलित



परासी ।

पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाउन राष्ट्रिय राजमार्ग बन्द गर्ने घोषणा गरेका छन् । एक वर्षअघिको रकम अहिलेसम्म नपाएको भन्दै उनीहरूले शुक्रबारदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

किसानहरूले विहीबार गोपीगञ्जमा पत्रकार सम्मेलन गरी चाडपर्व नजिकिँदै गएको र फेरि उखु बिक्री गर्ने समय नजिकिँदै गर्दासमेत गत वर्षको रकम दिन उद्योगहरूले आलटाल गरेकाकाले राजमार्ग बन्दको विकल्प नभएको बताएका हुन् ।

तीन सूत्रीय माग सहित बर्दघाटको टीसीएन चोकमा राजमार्ग बन्द गर्ने कार्यक्रम राखिएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो । जिल्लामा तीन उद्योग छन् । ती उद्योगले १२ हजार किसानको ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको यादवले बताउनुभयो । ती सबै किसान सडकमा उतारेर अनिश्चितकालीन राजमार्ग बन्द गर्ने समितिले जनाएको छ ।

सरकारले उखुको समर्थन मूल्य तोके पनि अहिलेसम्म उद्योगीले भुक्तानी गरेका छैनन् । पटक पटक सहमति र लिखित निर्णय भए पनि उद्योगीले दिन आलटाल गरेको किसानहरूको गुनासो छ । दसैंअघि सम्पूर्ण रकम पाउनुपर्ने, तिहार अघि न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने र सरकाकारबाट उपलव्ध गराइने अनुदान रकम मूल्यसँगै समायोजन गरी भुक्तानी व्यवस्था गर्नुपर्ने माग गरी किसानहरूले राजमार्ग बन्दको आह्वान गरेका हुन ्।

सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा समर्थन मूल्य तोकेको छ । त्यसमध्ये उद्योगीहरूसँग लिइने भ्याटबापतको रकममध्ये ६५ रुपैयाँ प्रतिक्विन्टल सरकारले किसानहरूलाई उपलब्ध गराउने छ । भ्याटबाहेकको चार सय ६५ रुपैयाँ ९२ पैसा किसानहरूलाई उपलब्ध गराउने उद्योगी र सरकारबीच सहमति भएको छ । तर, अहिलेसम्म किसानहरूले रकम नपाएको अध्यक्ष यादवले बताउनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  १ : ५९ बजे