१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पश्चिम दाङमा तोरी क्षेत्रको योजना



घोराही ।
जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो ।
पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पश्चिम दाङका शान्तिनगर, बबइ र दङ्गीशरण गाउँपालिकालाई तोरी क्षेत्रका रुपमा विस्तार गर्न लागेको हो ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले पश्चिम दाङका तीनवटै गाउँपालिकाका वडा तोरीका लागि उर्बर मानिन्छन् । परम्परागतरुपमा हँुदै आएको तोरी उत्पादनलाई आधुनिकीकरण गरी उत्पादन क्षमतालाई वृद्धि गरी जिल्लालाई तोरीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको शर्माले बताउनुभयो ।
विभिन्न कृषि समूह, सहकारी एवं स्थानीय कृषकको सूची तयार गरी सोहीअनुरुप बीउ वितरण गरिने कार्यालयले जनाएको छ । सामान्यतया कुनै क्षेत्रलाई क्षेत्रका रुपमा विस्तार गर्न थालेपछि त्यस क्षेत्रमा सडकको पहुँच, सिँचाइको उपलब्धता, तोकिएको क्षेत्र एउटै कोरिडोरमा रहेको, वित्तीय संस्थाको पहँुच तथा बजारको उपलब्धता भएको हुनुपर्छ । सोहीअनुरुप सिँचाइ मन्त्रालय, सडक विभाग, स्थानीय बजार, कृषक, स्थानीय निकाय सबैसँग समन्वय गरी अगाडि बढ्ने शर्माको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुगमन योजना अधिकृत गोविन्दप्रसाद शर्माले तोरी क्षेत्र विस्तारका लागि सरकारले फरकफरक खालका उन्नत जातका तोरीका बीउ वितरण गर्दै आएको बताउनुभयो । सरकारको १० वर्ष्भित्र दाङलाई तोरीमा आत्मनिर्भर बनाउने योजना छ । (रासस)

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : १५ बजे