१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश ७ को स्थायी राजधानी र नाम दुई–तिहाई मतले स्वीकृत



कैलाली ।
प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको हो ।
प्रदेश ७ को राजधानी र नामका लागि मतदान हुँदा राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने पक्षमा ३८ मत परेको थियो । विपक्षमा शून्य मत परेको थियो ।
५३ सदस्यीय यो प्रदेशमा नेकपाका ३९ जना, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद रहेका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यहरुले वैठक बहिष्कार गरेका छन ।
राजधानी अनुपयुक्त ठाउँमा भएको भन्दै उनीहरुले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन । आज बिहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थागित गरिएको थियो । प्रदेश ७ ले आज स्थायी राजधानी र प्रदेशको नामकरण तोके संगै अहिले सम्म तीन प्रदेशले मात्र स्थायी राजधानी र नामककरण तोकेका छन । यसभन्दा पहिला प्रदेश नं. ४ र प्रदेश नं. ६ ले नामकरण र स्थायी राजधानी तोकेका हुन ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  १ : ५६ बजे