१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुख्यमन्त्री पोख्रेल भन्छन्, वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आएन



बुटवल ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक संघीयता धेरै अगाडि बढेपनि वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभएको छ ।
बुटवलमा आयोजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अर्थपूर्ण र सार्थक कार्यान्वयनका लागि वित्तीय र प्रशासनिक संघीयता प्रदेश तहमा पनि आउनुपर्नेमा ती दुबै अझै आइनसकेको गुनासो गर्नुभएको हो । उहाले वित्तीय आयोग संवैधानिक रुपमा केन्द्रमा समेत अझै स्थापना हुन नसक्दा त्यो प्रदेशमा आउन झनै ढिलाई हुने औंल्याउनुभयो ।
संविधानले प्रशासनिक संगठन तीनै तहमा परिकलपना गरेपनि संघले अझै प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन नगरी व्यवस्थापन मात्रै गरेर प्रशासनिक संघीयता प्रदेश र स्थानीय तहसम्म आउन नदिएको तर्क गर्नुभयोे ।
मुख्यमन्त्री पोखरेलले राष्ट बैंकलाई संघीय व्यवस्था अनुसार प्रादेशिक तहका कार्यालय संरचनामा जान र मौद्रिक नीति पनि प्रदेशको वस्तुगत अवस्थालाई विश्लेषण गरेर बनाउन सुझाव दिनुभयो । कार्यक्रममा प्रदेश ५ सरकारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, बैंक तथा वित्तीय संस्था,उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७५ सोमबार ००:००  १ : ३३ बजे