२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

आईसीसी टी–२० विश्वकपमा नेपालको विजयी सुरुवात, म्यानमार आठ विकेटले पराजित



एजेन्सी ।
आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया सब–रिजनको छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो ।
मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवातदेखि नै दबाबमा आएको म्यानमारले चार रन बनाउँदा पहिलो विकेट गुमायो । ललित भण्डारीले नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि ६ रन हुँदा नेपालले दोस्रो विकेट लियो ।
यसपटक करण केसीले नेपालका लागि विकेट लिए । एकपछि अर्को विकेट गुमाएको म्यानमारले २८ रन बनाउँदा ५ विकेट गुमायो । त्यसपछि अरु एक रन स्कोरबोर्डमा थप्दा टिम अलआउट भयो । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले तीन र ललित भण्डारी र करण केसीले एक–एक विकेट लिए ।
जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन् ।
त्यसपछि अनिलकुमार साह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजित १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ९ : २५ बजे