१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवलपरासीका उखु किसानले उद्योगबाट रकम पाउन थाले



परासी । 

पश्चिम नवलपरासीका चिनी उद्योगले उखु किसानको रकम भुक्तानी गर्न सुरु गरेपनि सरकारले उपलब्ध गराउने रकमको भने अझै पत्तो छैन । सरकारले उखुको प्रतिक्विण्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा समर्थन मूल्य तोके अनुसार उद्योगीले चार सय ६५ रुपैयाँ ९२ पैसा र भ्याटबापतको ६५ रुपैयाँ सरकारले सोझै किसानलाई उपलव्ध गराउने निर्णय गरिएको थियो ।

एकवर्ष अघिदेखिको रकम नपाएको जनाउँदै किसानले राजमार्ग बन्द गराएरै आन्दोलन गरेका थिए । आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले तत्काल बक्यौता रकम भुक्तानी नगरे कारबाही गर्ने चेतवनी दिएपछि सोमबारबाट उद्योगले किसानलाई रकम वितरण गर्न सुरु गरेको हो ।

दसैंअघि किसानको रकम भुक्तानी गर्न प्रशासनले उद्योगलाई निर्देशन दिएको छ  । भुक्तानी गरे÷नगरेबारे अनुगमन गर्न प्रशासनले अनुगमन समिति गठन गरेर उद्योगको निगरानी समेत बढाएको छ ।

जिल्लाका तीनवटा उद्योगले ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योगले किसानलाई रकम वितरण गर्न सुरु गरेपनि सरकारले उपलव्ध गराउने भ्याटबापतको रकम भने अहिलेसम्म जिल्लामा आएको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडा नवलपरासी आउने क्रममा सरकारले उपलव्ध गराउने भ्याट बापतको रकम दसैं अघि किसानको हातमा पुग्ने बताउनुभएको थियो । तर अहिलेसम्म उक्त रकम जिल्लामा नआउँदा दसैं अघि पाउनेमा किसान विश्वस्त हुन सकेका छैनन् ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : ०९ बजे