६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025

दशकौ देखिको सपना पुरा : अर्घाखाँचीको सिमलपानी छेडामा खानेपानी पुग्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
तिन घण्टा समय लगाएर एक गाग्रो पानी ल्याउन बाध्य सितगंगा १३ सिमलपानी छेडा बौरी डढुवाका नागरिकको घरघरमा अहिले खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् ।

गाँउ गाँउमा खानेपानी आएपछी बिहान भरी पानी बोकेर गुजारा चलाउदै आएका गृहेणी महिलाहरू यतिबेला घरमा जोडिएको धारामा पानी थाप्न पाउदा आफुलाई खुसी लागेको स्थानिय शारदा बिसीले बताउनुभयो ।

पानीका साज सौरेनेटा मुहानबाट १ सय ५० मिटर उचाईमा रहेको बौरीको डाँडामा निर्माण गरिएको २० हजार घनमिटर क्षमताको ट्याङकीमा बिधुतको सहायताले पानी तानेर संकलन गरिएको छ ।

संकलन गरिएको ट्याङकीबाट डढुवा, बौरी ,छेडामा रहेको श्री प्रभाकर माध्यमिक बिधालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, अतिरिक्त हुलाक कार्यालय, वडा कार्यालय ,सहकारी संस्था लगायतका कार्यालय तथा ५७ घरधुरीमा जोडिएका धारामा पानी खसालिएको छ ।

२ बर्ष अगाडी पानीकासाज, सौरेपानी, छेडा, बौरी लिफ्ट खानेपानी नामाकरण गरि सुरू गरिएको योजना निर्माणका लागी जिल्ला खानेपानी कार्यालय अर्घाखाँचीबाट रू.२६ लाख, सभासद दुमन थापाको संसदकोष बाट रू.१० लाख र स्थानिय नागरिकको अथक जनश्रमदान सहयोगमा अहिले घरघरमा पानी ल्याउन सफल भएको खानेपानी योजनाका अध्यक्ष तथा सितगंगा नगरपालीकाका उपप्रमुख टिका रेश्मीमगरले बताउनुभयो ।

हाल थप ३ घरमा धारा जडानको लागी जिल्ला खानेपानी कार्यालयबाट रू ४ लाख परेको छ तर काम भएको छैन दशैपछी काम सुरू गरिने अध्यक्ष रेश्मीमगरले बताउनुभयो । अहिले गाँउका ५७ ओटा घरमा धारा जोडिएको छ । आगामी दिनमा १ सय ५० घरधुरीमा खानेपानी पुराउने लक्ष्य अनुसार काम भैरहेको वडा अध्यक्ष दुर्गा बिसीले बताउनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : ५९ बजे