२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता



एजेन्सी ।
आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७ दशमलव ७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।
नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् ।
अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतार सहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा अघि नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।
प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २४ विकेट लिए । जुन, कुनै पनि नेपाली बलरले एकै प्रतियोगितामा लिएको सर्वा्धिक विकेट हो । यसअघि प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र विनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।
सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौँ खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १ : ३८ बजे