१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित



दाङ ।
उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उहाँको भनाइ थियो ।

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उहाँको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिनुभयो ।

त्यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । लमही तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषिबाटै लमही नगरपालिकालाई समृद्ध बनाउन सकिने हुँदा त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न कानून बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  १ : १४ बजे