५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेकपा कपिलवस्तुका नेताको नेतृत्व प्रति यस्तो माग, के होला त्यो ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपा कपिलवस्तुका नेताहरुले नेतृत्वको ध्यानाकर्षण गरेका छन । वाणगंगा नगर स्तरिय शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले सरकार र पाटीले सञ्चालन गरेका गतिविधिले जनता खुसी नभएको बताएका हुन् ।

सिद्धार्थ क्याम्पसमा सोमबार भएको कार्यक्रममा केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टी एक ढिक्का भइरहेको भन्दै कार्यकर्तालाई निरास नहुन आग्रह गर्नुभयो । सरकारका पछिल्ला गतिविधिले जनताममा निरासा थपेको भन्दै नेतृत्वले जनभावना बुझेर काम गर्नुपर्ने बताउनुभयो ।

अर्का केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले पाटीमा कताकता एकता नभएको जस्तो देखिएकाले यसमा नेतृत्वले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टी र सरकार सञ्चालन प्रकृया लगाम विनाको घोडाजस्तो देखिएको बताउनुभयो ।

केन्द्रिय सदस्य विमला घिमिरेले चाँडै पार्टीको तल्लो तहसम्म एकताको प्रकृया चाँडै अगाडी बढाउनु पर्ने बताउनुभयो । मुलुकमा भएका विकृति रोक्न र जनतालाई न्याय दिन सरकार अलिकति चुकेको भन्दै नेतृ घिमिरेले यसमा ध्यानाकर्षण गराउनुभयो ।

प्रदेश नेता बलराम अधिकारीले संघियता कार्यान्वयनमा समस्या आउनु स्वाभाविक भएको भन्दै विपक्षीको अवरोधबाट डराउन नहुने बताउनुभयो ।

प्रदेश सांसद विष्णु पंथीले अर्को निर्वाचनमा भोट माग्न जाने बाटो रहने गरी पार्टी र सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो । सांसद पन्थीले पार्टी सहि ठाउमा भए विपक्षी दल आफै ठेगान लाग्ने भन्दै तुरुन्त जनताको मर्म र भावना अनुसार सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका ८० प्रतिशत एजेण्डा विकास र निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेकपा जिल्ला नेता झविलाल पोख्रेलले पार्टी अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले दलका शीर्ष नेता तथा कार्यकर्ता भष्ट्राचारबाट मुक्त हुन सके मात्र त्यसले जनतामा राम्रो म्यासेज जाने बताउनुभयो । नेता तथा मन्त्रीले घुस र कमिसन खाने अनि कर्मचारीलाई दोष दिने प्रवृत्तिले मुलुकमा कहिल्य भ्रष्टाचारको जरो नउखेलिने बताउनुभयो ।

यस्तै निर्वतमान सांसद विश्राम प्रसाद चौधरीले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न नसकेको स्विकार गर्दै विपक्षीले छरेका भ्रमहरु चिर्नुपर्ने बताउनुभयो । नेकपाका नेता बाबुराम आचार्यको अध्यक्षता र टेकेन्द्र क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगर भित्र तथा बाहिरका बिभिन्न नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  १ : २९ बजे