२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कपिलवस्तुमा प्रदेश स्तरिय नकआउट क्रिकेट प्रतियोगिताको तयारी पुरा



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ८ बोडगाउँमा बिहीबारबाट सुरु हुने प्रदेश स्तरिय नकआउट क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । खेल मैदानको स्तरउन्नती संगै खेलका लागि चाहिने सम्पूर्ण सामग्रीहरु खरिद गरि सकिएको आयोजकले जनाएको छ । खेलका लागि टाढा टाढाका खेलाडीहरु पनि आउने क्रम शुरु भएको छ ।
मायादेवी रंगशालामा विहान ११ बजेपछि सुरु हुने खेलको सञ्चालन राष्ट्रिय रेफ्रीले गर्ने छन । खेल मैदानमा गर्नुपर्ने सबै कामहरु सकिएको छ, खेल संयोजक माधव पौडेलले भन्नुभयो, “खेल मैदानको अवलोकन पछि राष्ट्रिय टोलीले प्रतियोगिता सञ्चालनको लागि अनुमति दिइ सकेको छ ।”
अब केही खेल सामग्री ल्याउने काम मात्र बाँकी रहेकाले बुधबार साँझसम्म ती सबै काम पनि सकिने संयोजक पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार सहित शिल्ड तथा प्रमाणपत्र, द्धितिय हुनेले नगद ५१ ह्जार शिल्ड प्रमाणपत्र, तृतीय हुनेले नगद १५ हजार सहित शिल्ड प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गर्नुभएको छ । प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पुर्याउनको लागि प्रतियोगिता आयोजना गरिएको हो ।
वाणगंगा नगरपालिकामा यस क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार राशी राखिएको प्रतियोगिता सम्पन्न गर्न सहयोगको लागि सबैमा आग्रह गरिएको छ । उद्घाटन समारोहमा राष्ट्रिय स्तरका चर्चित क्रिकेट खेलाडी, कलाकार तथा नेताहरुको सहभागी हुने आयोजकले बताएको छ ।
अहिलेसम्म २५ टिम दर्ता

क्रिकेट प्रतियोगीतामा अहिले सम्म २५ टिम दर्ता भएका छन् । प्रदेश नम्बर ५ का बिभिन्न जिल्लाबाट २५ क्लवले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  ३ : ३६ बजे