४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शीर्ष क्लवहरु पिएसजी, चेल्सी र युनाइटेडको जित



मायादेवी अनलाइन । 

विश्व लोकप्रिय क्लव फुटवलमा चर्चित क्लवहरु पेरिस सेन्ट जर्मेन(पिएसजी), चेल्सी र म्यानचेष्टर युनाइटेडले जित हासिल गरेका छन् ।

फ्रेन्च लिग वानमा क्लब पेरिस पिएसजीले लिगमा कीर्तिमानी जित दर्ता गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेइलीलाई २–० ले हराउदै लिगमा लगातार ११ औँ जित दर्ता गरेको हो । यो जित टोटेनह्यामले लिगका सुरुका ११ खेलमा लगातार गरेको जितसंगै बराबरी हो । पिएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्रेक्सलरले गोल गरे ।

लगातार ११ औँ जित दर्ता गरेको शीर्ष स्थानको पिएसजीको ३३ अंक भएको छ । यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरुका ११ खेलमा जित निकालेको थियो । यो युरोपका शीर्ष पाँच लिगमा सुरुमा भएको लगातार सबैभन्दा लामो जित हो ।
प्रिमियर लिग

प्रिमियर लिगमा गयराति शानदार जित निकालेको चेल्सीले म्यानचेस्टर सिटीलाई पछि पारेको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० को फराकिलो अन्तरले हराउदै सिटीभन्दा माथि गएको हो ।

चेल्सीको जितमा अल्भारो मोराटा, रोस बाक्र्ली, विलियन र रुबेन लोफ्टस–चिकले गोल गरे । म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको चेल्सीको १० खेलबाट २४ अंक भएको छ । एक खेल कम खेलेको सिटीको २३ अंक छ । लिग अन्तर्गत राति नै भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

प्रिमियर लिगमै आइतबार राति म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिमले एभर्टनलाई २–१ ले हराएको हो ।

म्यानचेस्टरको जितमा पउल पोग्बा र एन्थोनी मार्सलले गोल गरे । एभर्टनका लागि गिल्फी सिगुडर्सनले एक गोल फर्काए । च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्टससँगको खेलमा हार बेहोरेपछिको लिग खेलमा जोसेको टिमले जित दर्ता गरेको हो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड १० खेलबाट १७ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । यो खेलमा म्यानचेस्टर युनाइटेडले लयमा फर्किन थालेको संकेत दियो, किनकी उसको प्रदर्शन निकै राम्रो देखिएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  २ : ०१ बजे