५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

घोराहीमा हुने भयो एक वर्षभित्रमै फोहोरबाट ग्यास उत्पादन



दाङ ।

दाङको घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।

एक वर्षभित्रमै ग्यास उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्रालि काठमाडौंबीच सोमबार त्रिपक्षीय सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार २० करोड रुपैयाँको लागतमा ग्यास उद्योग स्थापना हुनेछ । उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी रहेको छ । घोराही उपमहानगरपालिका –१६, करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै ग्यास उद्योग स्थापना हुने छ ।

अब छिट्टै नै निर्माणको प्रक्रिया थाल्ने र १४ महिनापछि ग्यास उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्यास निकाल्ने र ६ टन प्राङगारिक मल उत्पादन गर्ने जनाएको छ । उत्पादन थालेको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर संकलन, ढुवानी गरिने र २० वर्षपछि कम्पनीले चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

त्यसैगरी उत्पादनपश्चात कूल उत्पादनको एक प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनु पर्ने छ भने ५ वर्षपछि आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ । तत्कालीन घोराही नगरपालिकाले झण्डै ३ वर्ष पहिलेदेखि फोहोरबाट ग्यास तथा मल उत्पादन गर्ने गरी निजी कम्पनीसँगको समन्वयमा प्रक्रिया थालेको थियो ।

उपमहानगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन गर्ने निजी कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७५ सोमबार ००:००  १ : ४८ बजे