५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने – मन्त्री पौडेल



बांके ।
प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु आवश्यक छ ।”
वस्तुगत सबैखाले सहकारीले युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी बस्नेतले सहकारीमा युवाको सहभागिता बढाउन प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका युवालाई नेपालगञ्जमा जम्मा गरेर सहकारी सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
दुई सय ५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवाको सहभागिता रहेका सहकारी युवा सम्मेलनमा सहकारीमा युवा सहभागिता र युवा उद्यमशीलता, सहकारी र नेतृत्व विकासका विषयमा छलफल गरेर नेपालगञ्ज घोषणापत्र जारी गरिने सङ्घका केन्द्रीय महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  १२ : १९ बजे