२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024

कुखुराको दानाको मूल्य बढ्यो



भरतपुर ।
कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई रुपैया ५० पैसाका दरले मूल्य बढाएको हो ।
दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो । कुखुराको दाना बनाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । असीदेखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ ।
“दानाको मूल्य बढेर किसानलाई मार पर्ने कुरा स्वभाविक हो”,पुरीले भन्नुभयो, “यसमा हामीले गर्नसक्ने अवस्था केही छैन्, सरकार नै उत्पादन बढाउनतर्फ लाग्नुपर्छ ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ ।
ब्रोइलर कुखुराको दाना बिपिएच थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यसवर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको दाना उद्योग सङ्घका पूर्व अध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताउनुभयो ।
नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गतवर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी एक सय पाँचवटा कुखुराको दाना उद्योग छन् ।

प्रकाशित मिति : ८ पुस २०७५ आइतबार ००:००  ९ : ४१ बजे