३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

अवरुद्ध विद्युत सेवा सुचारु, जनजीवन सहज



मायादेवी अनलाइन, कपिलवस्तु ।
आइतबार देखि वाणगंगा नगरपालिका वडा नं ४ का केही स्थानमा अवरुद्ध भएको विद्युत मंगलबार अपरान्हबाट सुचारु भएको छ । विद्युत सुचारु भएसंगै जितपुर चारनम्बर बजारको केही भाग, सिद्धिपुर, होराइजन चोक लगायतका उपभोक्ताको जनजीवन सहज भएको छ । तौलिहवा–चारनम्बर सडकखण्ड विस्तारको लागि सडक क्षेत्रभित्र रहेका विद्युतका पोल सार्नु पर्दा आइतबार विहान ८ बजेदेखि विद्युत अवरुद्ध भएको थियो ।
बिजुली नआए पछि विजुलीबाट हुने सम्पूर्ण कामहरु गर्न नपाउँदा सर्वसाधारणलाई सास्ती भएको थियो भने टेलिफोन र इन्टरनेट संचालनमा पनि समस्या भएको थियो । बिजुली नभएर इन्टरनेट नचल्दा वाणगंगा नगरपालिका लगायतका सरकारी कार्यालयमा पनि कामकाजमा बाधा पुगेकोमा अब तुरुन्तै त्यस्तो समस्या नआउने विद्युत प्राधिकरण गजेहडा वितरण शाखाले जनाएको छ ।
यसैबीच विद्यूत अवरोध भएपछि यस क्षेत्रमा पर्ने केही संचारमाध्यम पनि प्रभावित भएका थिए । विजुली नआउँदा रेडियो मायादेवी, मायादेवी अनलाइन तथा आर्थिक खबर साप्ताहिकको प्रकाशन तथा प्रसारणमा पनि समस्या आएको थियो ।
रेडियो मायादेवीको गृह नजिकैबाट पोल तथा विजुलीको तारबार हटाउनु पर्दा विद्यूत सर्ट भई रेडियोका उपकरणमा क्षति आउन सक्ने भएकाले रेडियोले पुरा अवधि आफ्नो प्रसारण गर्न नसकेकोमा विज्ञप्तीमार्फत् क्षमा मागेको छ । रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेद्धारा जारी विज्ञप्तीमार्फत भनिएको छ– “आइतबार दिउसोदेखि रेडियो बीचबीचमा बन्द हुँदा समस्त श्रोता, विज्ञापनदाता, शुभचिन्तक तथा शुभेच्छुकहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ । आगामी दिनमा आएका यस्ता समस्याप्रति सजग रहँदै श्रोताको मन जित्ने गरी थप परिस्कृत र परिमार्जित हुँदै अगाडी बढ्ने छौँ ।”
यद्यपी समस्या हुँदाहुँदै पनि श्रोतालाई मध्येनजर गरी रेडियोले विहान र साँझको महत्वपूर्ण समाचारमूलक समयमा भने आफ्नो प्रसारण आंसिक रुपमा सुचारु गरेको थियो । रेडियोमा इन्भटर र जेनेरेटरको वैकल्पिक उर्जाका श्रोत भए पनि रेडियो स्टेशन नजिकै पोल र तारबार हटाउने काम भएका कारण उपकरणमा क्षति हुन सक्ने भएकाले रेडियो बन्द गर्नु पर्ने बाध्यात्मक अवस्था आएको प्रशासनले जनाएको छ । रेडियो बन्द हुँदा कोही कसैले रेडियो प्रशासनप्रति भ्रामक सूचना सम्प्रेष्ण गरेको भए विश्वास नगर्न पनि रेडियो प्रशासनले सबैम अनरोध गरेको छ ।
यता दुई दिन सम्म विद्युत नचल्ने स्थिती आएपनि विद्युत वितरण शाखाले कुनै जानकारी नदिदा आक्रोस बढेको थियो । विद्युत मर्मतको काम गर्दा पूर्व सुचना दिएर गर्नुपर्ने भएपनि प्राधिकरण शाखा गजेहडाले सुचना नै नदिई मर्मत गरेको थियो ।
एकै दिनमा काम सकिने अनुमानले जानकारी नदिएको र आगामी दिनमा यस्तो गल्ति नहुने प्राधिकरणले जनाएको छ । अहिले तौलिहवा–चारनम्बर सडकखण्ड विस्तारको काम जारी छ । सडकखण्ड अन्तर्रगत चारनम्बर, गजेहडा, ओदारी लगायतका स्थानमा चार लेनको सडक बन्ने छ भने अन्य स्थानमा दुई लेनको सडक बन्दै छ ।

प्रकाशित मिति : १७ पुस २०७५ मंगलबार ००:००  ४ : ४७ बजे