१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मायादेवी गाउँपालिका माघ भित्र खुल्ला दिसा मुक्त हुने



थानेश्वर अधिकारी, कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाको स्वाभिमान, पुर्ण सरसफाइ अभियान भन्ने मुल नाराका साथ मायादेवीमा गाउँपालिका संचालित खानेपानी सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम अन्र्तगत कपिलवस्तुको मायादेवी गाउँपालिका यहि माघ मसान्त भित्र खुला दिसा मुक्त घोषण हुने भएको छ । गाउँपालिकामा ८ वडा मध्ये ७ वडा यस अगाडी नै खुला दिसा मुक्त क्षेत्र घोषणा भईसकेको छ । बाँकी रहेको वार्ड नं १ पकडीलाई पनि यहि माघ मसान्त भित्र वडा संगै गाउँपालिका लाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताएका छन ।

गाउँपालिकाको वडा नं. १ पकडीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागी हिजो गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गरेको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको नेतृत्वमा उपाध्यक्ष गीता तिवारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वार्डनं १ का वडाध्यक्ष हरिगोविन्द चौधरी, इलाका प्रहरी कार्यालय पकडीका प्रहरी नायव निरिक्षक, वास संयोजक थानेश्वर अधिकारी, वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य सहाबुद्दिन मुसलमान, समाजसेवी हिन्दराज चौधरी, वास सहजकर्ता श्याम कुमार बिश्वकर्मा, पत्रकार दिलिप यादव लगायकको टोलीले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा वडा नं. १ मा ६० घरधुरीमा शौचालय निर्माणको क्रममा रहेको वास सहजकर्ता श्याम कुमार बिश्वकर्माले बताएका छन् । अब ति बाँकी रहेका ६० घरधुरीमा शौचालय निर्माण पछि गाउँपालिकालाई नै खुल्ला दिसा मुक्त गाउँपालिका घोषण गर्ने तयारी भईरहेको वडा सचिव शिवगुलाम कलवारले बताएका छन ।

अबका दिनमा ति बाँकी रहेका घरधुरीमा वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, सरोकारवाला, सुरक्षाकर्मी सहित पनि बृहत अभियान संचालन गरी तोकिएकै समयमा पकडीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिने वडा अध्यक्ष हरिगोविन्द चौधरीले बताएका छन ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ९ : १८ बजे