२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

१० लाखसम्मको सहुलियत कर्जा सकारात्मक



मायादेवी अनलाइन ।
वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै व्यवसायिक योजना सहित सरकारले सहुलियतपूर्ण सरल कर्जाको लागि आवेदन माग गरेको छ । विदेशमा श्रम पोखेर देशमा केही गर्न चाहने युवाको लागि १० लाख रुपैयाँसम्म पाउनसम्म पाउने गरी जुन योजना ल्याइएको छ । यसलाई सबैले हृदयबाट स्वागत गर्नु पर्दछ । मुलुकलाई समृद्ध बनाउनको खातिर यो एकदमै सकारात्मक कुरा हो । यदी राज्यले भने अनुसार साँच्चिकै कार्यान्वयनमा आउने हो भने सरकारको यस पोलिसिले विदेशमा जाने युवाको दरमा त कमी ल्याँउछ नै विदेशमा बसेर नेपाललाई माया मारेका क्षमता, दक्षता र सीपलाई पनि नेपाल भित्राउन महत्वपूर्ण भूमिका खेल्नेछ । यो कुरा चाँडै कार्यान्वयनमा आउने हो भने केही उद्यम गर्न चाहने युवाले अब सहुलियत दरमा कर्जा लिएर व्यवसाय सुरु गर्न सक्नेछन् । सरकारले ल्याएको यति महत्वपूर्ण कुराको बारेमा केहीलाई थाहा भए पनि अधिकांशलाई थाहा छैन । तसर्थ सम्बन्धित निकायले यस अभियानको प्रचार गर्न नितान्त जरुरी छ ।
सहुलियत कर्जा लिएर स्वरोजगार हुनका लागि इच्छुकले सबैभन्दा पहिले वैदेशिक रोजगार सम्बन्धीज्ञान÷सीप÷तालिम÷अनुभवको प्रमाणित प्रतिलिपिहरु साथमा लिई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय जानुपर्ने छ । बोर्डमा गई एउटा फारम भर्न दिन्छ । सो फारम सही तरिकाले भर्नुपर्छ । फारम भर्दा एक प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । साथै फारममा तिन पुस्ताको पुरा नाम, ठेगाना, विदेश गएको देशको नाम, रोजगारदाताको कम्पनिको नाम, विदेश बसेको अवधि, अनुभव, सीप र नेपालमा गर्न लागेको पेशा वा व्यवसायको नाम, ठेगाना र अनुमानित लाग्ने खर्चको विवरण भर्नु पर्दछ ।
थोरै ब्याजदरमा ऋण लिन जाने व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि, राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, कुनै पनि देशमा कम्तीमा छ महिनासम्म सम्बन्धित तालिम र पेशा व्यवसायको प्रतिलिपिको साथै नेपाल फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ ।
नेपाली नागरिक नभएको, नेपाल फर्किएको ३ वर्ष नाघेको, विदेशको आवासीय अनुमती पत्र (पिआर ग्रीन कार्ड) भएको, कर्जा सुचना केन्द्रको कारवाहीमा परी कालो सुचीमा परेको व्यक्तिले कर्जा पाउँदैन । यसरी प्राप्त हुन आएका निवेदनहरु मध्ये तोकिएका शर्तहरु पुरा भएका निवेदनहरु मात्र संकलन गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले स्वरोजगार हुन चाहनेको लगत विवरण तयार पार्ने र आवश्यक सहयोगका लागि सिफारिस सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ ।
नेपाल सरकारको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय, काठमाडौँमा गई वा अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । जुन उद्देश्यका लागि कर्जा लिएको हो सोही उद्देश्यमा उपयोग गर्नुपर्छ । यति मात्र होइन यो सुविधा दिनको लागि सवै युवाहरु जुर्मुराएर लाग्नु पर्दछ । गरेर खाऊ सरकारले हेर्छ भन्दा भन्दै पनि मात्तिएर हिँड्यौँ भने त कसको के लाग्छ र ? तर होइन विदेशमा सिकेको सिप प्रयोग गरेर देशमै केही गर्छु भन्ने हो भने १० लाख सम्म पाइने यो सहुलियत कर्जा निकै ठुलो सहुलियत हो । यसले धेरै बेरोजगार समस्या निराकरण गर्न सक्छ । विदेशबाट आएका व्यक्ति फेरि दाम र मामको लागि विदेशी भूमिका छिर्न पर्दैन । प्रकृया पुरा गरेपछि सरकारले बल्ल सहुलियत दिने छ । विदेशमा रहेका सबैलाई यसको बारेमा बुझाउन जरुरी छ ।
अर्को तर्फ सरकारले जुन उदेश्य लिएर सहुलियत कर्जा दिने भनेको छ कार्यान्वयन गर्न भने त्यति जटिल छ । नेपालमा भएको एउटा रोग के हो भने जहाँ पनि ठुला ठालुले विना मापदण्ड सबै सुविधा उपभोग गर्न पाउने ? नियम कानुनको पालना गर्न पनि नपर्ने । उनीहरुलाई कुनै मापदण्ड नचाहिने । तर गरिबदुखी र पहुँच नपुगेकाहरुलाई सबै नियम चाहिने । सबै प्रकृया पुरा गर्नुपर्ने । यदि यो राष्ट्र बैङकले जारी गर्ने सहुलियत कर्जामा पनि त्यही नियत दोहोरीरह्यो भने कागज बनाएर केही अर्थ हुँदैन । लक्षित वर्गको लागि तयार पारिएको कार्यक्रम लक्षित वर्ग र समुदायसम्म पुग्नै पर्दछ ।
कुनै नेता, मन्त्री र कर्मचारीका निकटताकाले पाउने तर आम सर्वसाधारणले नपाउने भयो भने त्यो केवल सिमित स्वार्थको लागि सिमित व्यक्तिले लिएको सुविधा हो भन्नु पर्ने हुन्छ । तसर्थ विदेशमा काम गरी देशमा फर्किएर काम गर्छु भन्नेहरुका लागि १० लाख सम्म सहुलियत कर्जा वितरण प्रकृया चाँडो कार्यान्वयन गर्नु पर्दछ । अनि सम्बन्धित बैंकले पनि यसको बारेमा आम सबैलाई जानकारी दिन जरुरी छ ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  ६ : ४३ बजे