७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कोपवामा निशुल्क स्वास्थ्य शिविर, ६ सय ५० जनाले सेवा लिए



मायादेवी अनलाइन, कोपवा ।
कपिलवस्तुको बाणगंगा ५ कोपवामा बुधबार भएको वृहत स्वास्थ्य शिविरबाट ६ सय ५० जनाले स्वास्थ्य जाँच गराएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ५ र ६ ले आयोजना र सि एण्ड सि हस्पिटल ४ नम्बर जितपुरको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिबिरबाट विरामीहरुले स्वास्थ्य जाँच गराएर निशुल्क औषधी लिएका हुन् ।
वडाको बार्षिक बजेट अनुसार वडाबासीको स्वास्थ्य जाँच गराएको वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसालले बताउनुभयो । आर्थिक अभावको कारण कमजोर रहेका नगरिकमा स्वास्थ्य जाँचले निकै ठूलो सहयोग गरेको वडा अध्यक्ष भुसाललले बताउनुभयो ।
कोपवा स्वास्थ्य चौकीमा भएको शिविरमा विहानैबाट स्वास्थ्य जाँच गराउन बिरामीहरुको भीँड लागेको थियो । शिबिरमा गर्भवती महिला, पत्थरी, पेटको समस्या भएकादेखि मृगौलमा समस्या भएका व्यक्तिहरुले स्वास्थ जाँच गराएको र उनीहरुलाई आफूहरुले आवश्यक परामर्श दिएको सि एण्ड सि हस्पिटलका वरिष्ठ फिजिसिएन विशेषषज्ञ डा. प्रकाश पुनले जानकारी दिनुभयो ।
बाणगंगा ५ र ६ मा अझै पनि धेरै जन समुदाय आर्थिक अभावका कारण आधारभूत चिकित्सा सेवा लिनबाट समेत बञ्चित भएकाले उनीहरुलाई उच्च स्तरीय स्वास्थ सेवा दिन कार्यक्रम आयोजना गरिएको स्वास्थ्य चौकीका कार्यलय प्रमुख ठगराज पौडेलले बताउनुभयो ।
आजको स्वास्थ शिबिरमा जाँच गराएर सो कार्ड लिएर आउने विरामीहरुलाई यो आर्थिक बर्षसम्मनिशुल्क सि एण्ड सि हस्पिटलले बिशेषज्ञ डाक्टरद्धारा निशुल्क जाँचको व्यवस्था गर्ने र हरेक सेवामा २० प्रतिशत छुट दिने हस्पिटलका संचालक गोपाल घिमिरेले बताउनु भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ३ : ३१ बजे