२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

बैंकलाई सुझाव–‘शाखा खोल्ने मात्र होइन, सेवा चुस्त बनाऊ’



मायादेवी अनलाइन ।
पछिल्लो समय कपिलवस्तुको बाणगंगा नगरपालिकामा वित्तिय गतिविधि ह्वात्तै बढेको छ । वित्तिय संस्थाहरु धमाधम विकास र विस्तार भइरहेका छन् । मुख्य गरी वाणगंगा–४ जितपुरलाई केन्द्र बनाएर धमाधम बैंक, बिमा कम्पनी तथा लघुवित्तहरु धमाधम खुलिरहेका छन् । भृकुटी डेभलपमेन्ट बैंकले सबैभन्दा पहिले यस क्षेत्रमा कारोबार सुरु गरकोमा अहिले आएर ‘क’ देखि ‘घ’ वर्गसम्मका गरी झण्डै १ दर्जन जति बैंकका शाखा विस्तार भएका छन् । जितपुरमा भृकुटी डेभलपमेन्ट बैंक हालको एनएमवी बैंक संगै शाखा विस्तार गरेका बैंकहरुमा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एन आइ सि एसिया बैंक, मेगा बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, जनता बैंक, ज्योति विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) आदि रहेका छन् । अहिलेसम्म यहाँ खुलेका बैंकहरुमा कान्छो बैंकको रुपमा कैलाश विकास बैंक रहेको छ । अझै केही बैंकहरु खुल्ने क्रममा छन् ।
यसरी ग्रामिण भेगमा बैंकहरु खुल्नु र वित्तिय गतिविधि बढ्नु राम्रो कुरा हो । यसले वित्तिय गतिविधिसंगै स्थानीय स्तरमा रोजगारीको अवसर पनि सिर्जना गर्न मद्धत पुगेको छ । तर बैंकहरु धेरै हुँदा यिनले दिने सेवा सुविधा र कारोबारको लागि भने स्थानीयमा अन्यौलता सिर्जना गरेको छ । खुलेका बैंकहरु सबै राम्रो गरिमा बोकेका नै छन् । त्यसकारण जनतालाई कुन बैंकमा कारोबार गर्ने भन्ने अन्यौल बढी छ । त्यसैले जुन बैंकले जनतालाई बढीभन्दा सुविधा र विश्वसनीय सेवा दिन्छ । त्यसमा जनताको आकर्षण बढ्ने देखिन्छ । त्यसकारण बैंकहरुलाई कारोबार गर्न यस क्षेत्रमा धेरै चुनौती छ ।
बैंकिङ व्यवसाय मुद्राको कारोवार संग सम्वन्धित विशिष्ट प्रकृतिको व्यवसाय हो । बचतको क्षेत्रबाट निक्षेपको रुपमा मुद्रा संकलन गरी न्यून क्षेत्रतर्फ कर्जाको रुपमा प्रवाह गर्नु नै बैंकको प्रमुख काम हो । त्यसकारण बैंकहरुले कर्जा प्रवाह र निक्षेप संकलनमा विशेष ध्यान दिन जरुरी छ । वित्तीय मध्यस्थकर्ताको रुपमा गरेको कामबाट बैंकलाई प्राप्त हुने व्याज आम्दानी बाहेक बैंकले रकमान्तर, ग्यारेण्टी लगायतका अन्य वित्तीय सेवाहरुको बिक्रीबाट पनि आम्दानी गर्दछ । बैंकले गर्ने अधिकांश कामहरु शाखा मार्फत सम्पादन हुने हुँदा आम्दानीको श्रोत पनि शाखा नै हो । त्यसकारण शाखाहरु व्यवस्थित हुन जरुरी छ ।
पहिलो नम्बरमा बैंकले निक्षेप संकलन र भुक्तानी व्यवस्था चुस्त बनाउनु पर्दछ । बैंकको सवैभन्दा ठूलो र दीगो वित्तीय श्रोत नै निक्षेप हो । ग्राहकहरुबाट लिइएको त्यो धन जसलाई फिर्ता गर्ने दायित्व जिम्मेवार ढंगले पुरा गर्नु पर्दछ । त्यस्तै कर्जा व्यवस्थापन अर्को महत्वपूर्ण काम हो । कर्जा र निक्षेप एक अर्काका सन्तानको रुपमा बुझेर शाखा प्रमुखले काम गर्नु पर्दछ । कर्जाको माग अर्थतन्त्रको विस्तार, आर्थिक गतिविधि, औद्योगिक एवम व्यवसायिक वातावरण आदिबाट प्रभावित हुन्छ भने पूर्ति निक्षेपको स्थितिसंग सम्वन्धित हुन्छ भन्ने कुरा शाखा प्रमुखले जानेको खण्डमा त्यस बैंकले बढी कारोबार गर्न सक्छ । यस्तै रकमान्तर, सम्पति व्यवस्थापन, नगद व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, बजार व्यवस्थापन अनि ग्राहक सन्तुष्टीमा बैंकहरु चनाखो हुन जरुरी छ ।
यस्तै सेवा व्यापार गर्नेहरुले ग्राहकको सन्तुष्टीलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुले आशा गरेभन्दा उच्च स्तरको सेवा प्रवाह गर्न हर–हमेसा तयार रहनु पर्दछ । बैंक शाखामा प्रवेश गर्ने ग्राहकहरुलाई मीठो बोलीले हार्दिकताका साथ स्वागत गर्दै उसलाई विशेष महत्व दिएको कुरामा विश्वास दिलाउनु पर्दछ । सजिलै संग गर्न सकिने कामलाई झन्झटिलो बनाउनु हुँदैन । कर्मचारीहरु समस्या खडा गर्ने नभई समाधानमुखी हुनुपर्दछ । सन्तुष्ट ग्राहकले लिएर जाने सन्देश नै बैंकको व्यवसायको आधार भएकाले यी कामहरु शाखाबाट सम्पादन हुन जरुरी छ ।
बैंकिङ क्षेत्रमा भइरहेका नयाँ प्रोडक्ट तथा प्रविधिको विकासलाई नजिकबाट नियाली आफ्नो बैंकले भैरहेका सेवामा गर्न सक्ने सुधार र नयाँ सेवाको पहिचान र सम्भाव्यता सम्वन्धमा सम्वन्धित अधिकारीहरुलाई पृष्ठपोषण दिनु पर्दछ । बैंकिंङ व्यवसाय जोखिमयुक्त व्यवसाय हो । काम गर्दा त्यसमा अन्तरनिहित जोखिमको बारेमा जानकारी हुनुपर्दछ ।
शाखा प्रवन्धकले आफ्ना कर्मचारीहरुलाई उत्प्रेरित र नेतृत्व प्रदान गर्न सक्नु पर्दछ । यसका लागि ऊ रोल मोडल हुनु पर्दछ । स्थानीय समुदायमा आफ्नो बैंकको प्रतिनिधित्व गर्न आवश्यक सञ्चार कुशलता हुन आवश्यक छ । बैंकका सवै कामहरुका बारेमा जानकार हुनु पर्दछ र कर्मचारीलाई कार्य सञ्चालन स्तरमा प्रशिक्षित गर्न सक्ने क्षमता राख्नु पर्दछ । श्रृजनशील र गतिशील हुनु पर्दछ । त्यसकारण बैंकले शाखा खोल्ने मात्र होइन यहाँको जनस्तर अनुसार सेवा प्रवाह चुस्त दुरुस्त बनाउन जरुरी छ । यी र यस्ता कुरामा चुक्ने यो बैंकको यो ठुलो भिडमा केवल स्थान ओगटेर बस्ने छ । त्यसले लक्ष्य हासिल गर्न सक्ने छैन ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ५ : ४० बजे