१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मुस्ताङमा हिमपात हवाई, यातायात, सञ्चार सेवा अवरुद्ध



म्याग्दी ।
शुक्रबार साँझदेखि भएको वर्षा र हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङमा यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो ।
सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताउनुभयो । उहाँका अनुसार हिमपातपछि शुक्रबारदेखि नै मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा आपूर्ति बन्द भएको छ ।
विद्युत सेवा बन्द भएपछि अहिले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जोमसोम विमानस्थलको रनवेमा हिउँ जमेपछि हवाई उडान बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । अहिले पनि निलगिरी हिमाललगायतका डाँडाहरुमा बादल लागेको र हिमपात भैरहेको छ । जोमसोममा झण्डै १ फिटभन्दा बढी हिउँ जमेको छ ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ८ : ५६ बजे