९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

साहित्यकारलाई प्रधानमन्त्रीको साहित्यिक प्रवचन



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् ।
चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिएका हुन् ।
सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो सम्बोधनलाई साहित्यमा नै केन्द्रीत पारे ।उनले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताए ।
उनले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए । मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उनले गरे ।
पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आएका छन् । उनको पछिल्लो कृतिको रुपमा आएको मेरो जीवन कथा आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
२ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा,राजनीतिक व्यक्तित्वसँगको भेटघाट, संगत तथा २०६२ र६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ३९ बजे