५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउँदै छौंः मन्त्री बाँस्कोटा



बुटवल ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनु भएको छ  ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको बताउनुभयो ।

उहाले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताउनु भयो । उहाले अहिले मिडियामा कानुनका बिषयलाई लिएर अनावश्यक हल्ला मच्चाउने काम भएको बताउनु भयो ।

‘प्रेस कानुन ल्याउदैछौं, मान्छेहरु हल्ला मचाउँदैछन, अध्यारोमा तरबार नचलाऔं’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाले संसदमा विज्ञापन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको बताउँदै यसले मिडियालाई फाइदा गर्ने बताउनुभयो ।

उहाले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पुर्याउने दावी गर्नुभयो । विज्ञापनका बिषयमा भइरहेको आलोचनालाई लक्षित गर्दै भन्नुभयो ‘भ्रमको शिकारको पहिरनुस हजुर, काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ ।’

मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताउनुभयो ।

उहाले नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएकोमा आपत्ती जनाउनुभयो । उहाले विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाड्ने जिकिर गर्नुभयो ।

उहाले आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने बताउनु भयो । उहाले कम्यूनिष्ट सरकारले काम गर्दा अरुलाई पिडा भएकाले त्यसलाई चर्चामा ल्याउनुको अर्थ नरहेको बताउनुभयो । अब कम्यूनिष्ट सरकार ५ बर्ष मात्रै नभई आउदो चुनावमा पनि जनताकोमन जितेर चुनाव जित्ने बताउनुभयो ।

साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत हुनु भएको छ ।

अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत हुनु भएको हो ।  दुवै जनालाई नगद ५०÷५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गर्नुभयो ।

यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित हुनु भएको छ । नगद १० हजार सहित सम्मानपत्रले मन्त्री बाँस्कोटा र बुटवल पब्लिकका अध्यक्ष हेमलाल शर्माले संयुक्त प्रदान गर्नु भयो ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १ : १५ बजे