५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गते ताप्लेजुङबाट



काठमाडौं । 

कमल थापा नेतृत्वकमो राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । यात्राको अध्यक्ष थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा औपचारिक समुदघाटन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यात्राको उद्देश्य  हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने रहेको छ ।

यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ भने  यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने श्रेष्ठले जानकारी दिए । यस्तै  फागुन ३० गते सभा गर्दै सम्पन्न गरिनेछ ।

ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १० : ४९ बजे