१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

पार्टी एकता पछि पहिलो पटक नेकपाले जनयुद्ध दिवस मनाउँदै



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज जनयुद्ध दिवस मनाउने भएको छ । यद्यपि नेकपाले नाममा केहि परिवर्तन गरी जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृति दिवसको रुपमा मनाउन लागेको हो ।
नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य शीर्ष नेताको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
नेताहरुका अनुसार जनयुद्ध सुरु भएको दिन र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच यसै बर्ष पार्टी एकता भएको थियो ।
महासचिव विष्णु पौडेलले एक सर्कुलर जारी गर्दै देशभर कार्यक्रम गर्न निर्देशन पनि दिनुभएको छ । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको १० वर्षे जनयुद्धको स्मरणमा माओवादीहरुले त्यस दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् ।
तत्कालिन नेकपा (माओवादी) ले सोही दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।
२०६३ मंसिर ५ मा तत्कालिन माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता गरी औपचारिक रुपमा सशस्त्र युद्धको अन्त्य भएको घोषणा गरेसँगै माओवादी शान्ति प्रक्रियामा आयो । एक दशक सशस्त्र युद्धमा बिताएको माओवादीले १२ वर्ष शान्ति प्रक्रियामा पनि बिताइसकेको छ ।
विगतमा मुलधारको माओवादी र त्यसबाट फुटेका माओवादीहरुले मात्रै जनयुद्ध दिवस मनाउने गर्थे । जनयुद्धलाई हेर्ने दृष्टिकोण फरक भएको तत्कालिन एमाले पनि यो पटक दिवस मनाउँदै छ । यसैबीच विप्लव नेतृत्वको नेकपा र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाउँदै छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७५ बुधबार ००:००  ३ : २४ बजे