१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रतिक्रियावादीले नेकपा फुटाउन खोजेः प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले नेकपालाई फुटाउन लागिपरेको बताएका छन् ।
२४ औँ जनयुद्ध दिवसको सन्दर्भमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीले एकीकृत कम्युनिस्ट पार्टी अघि नढोस्, कम्युनिस्टको प्रभाव घटोस्, कम्युनिस्टको नेतृत्वमा विकास समृद्धि नहोस् भन्ने खोजेको बताएका छन् ।

साँचो कम्युनिस्टले प्रतिक्रियावादीले खोजेको कुरा पूरा गर्नतिर नलागी पार्टी एकतालाई बलियो बनाउनतिर लाग्नुपर्नेमा जोड दिए । “प्रतिक्रियावादीलाई कमजोर बनाउन हामी सबै एकजुट हुनुपर्छ भन्ने सरल सिद्धान्त छ, हामी त्यतातिर जानुपर्छ,” उनले भने । “पार्टीभित्र फाटो पैदा गर्ने, नेताहरूकाबीचमा अविश्वास पैदा गर्ने विभिन्न अभ्यास हुन्छन् । हामी प्रतिक्रियावादी र अवसरवादीहरूको ‘प्रोभोकेसनमा आउने छैनौँ,” उनको जोड थियो ।
त्यस्तै उनले पार्टी एकता कसैले माया वा दया गरेर दिएको नभइ सहिदहरूको त्याग, तपस्या र जनताको क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त गरेको बताउँदै एकजुट भएर रक्षा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ फाल्गुन २०७५ बुधबार ००:००  ९ : १८ बजे