१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशीलः अध्यक्ष प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील भएको बताएका छन्। माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय चिकित्सा शिक्षाबारे सरकारले बनाएको ऐन अहिलेसम्मकै प्रगतिशील रहेको बताएका हुन्। उनले भने, ’चिकित्सा शिक्षाको व्यवस्था गर्न बनेको र संसदबाट पारित भएको ऐन अहिलेसम्मकै प्रगतिशील हो।
यद्यपि यसबारे बहस पनि चलिराखेको छ।’ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माघ ११ गते प्रतिनिधिसभा र त्यसपछि राष्ट्रियसभाबाट पारित भएको छ। उक्त विधेयकको विरोधमा कांग्रेसले संसद अवरोध गरेको थियो। यता, सोही विषयलाई लिएर डा. गोविन्द केसी लामो समय अनशनमा बसेका थिए। यसबारे प्रचण्डले यसअघि सार्वजनिक अभिव्यक्ति नदिए पनि आज भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अहिलेसम्मकै प्रगतिशील भएको बताएका हुन्। प्रचण्डले अहिले संघीय शिक्षा ऐन बहसमा रहेको र त्यसले पनि नेपाली शिक्षाको मोडल कस्तो हुने र यससँग सम्बन्धित व्यक्तिका मागलाई कसरी समाधान गर्ने भन्नेबारेका माग सम्बोधन हुनेगरी व्यवस्था हुने बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : २६ बजे