२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

स्ववियु चुनावको नयाँ मिति तोक्न अनेरास्ववियु र क्रान्तिकारीको माग ( विज्ञप्ती सहित )



काठमाडौँ ।
सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मितिसहितको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले निकालेको विज्ञप्तिअनुसार भोलि सोमबार बिहान ११ बजे त्रिभूवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा प्रदर्शनसहित घेराउ र पर्सि फागुन ७ गते देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिनेछ ।
ती संगठनहरुले त्रिवि नेतृत्व कुनै अमुक संगठनको दबाबमा परेर चुनाव नगराउने खेलमा लागेको हो कि भन्ने आशंका गरेका छन् । ’स्ववियु निर्वाचन गर्ने सहज वातावरणा हुँदाहुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनीतिक भागबन्डामा आएको त्रिविको नेतृत्व नै कतै अमुक दल वा कुनै संगठनको दबाबमा परेर चुनाव नगराउन उद्दत त छैन भन्ने गम्भीर प्रश्न खडा भएको छ’ विज्ञप्तिमा छ ।
विगतमा प्रतिकूल अवस्थामा समेत स्ववियु निर्वाचन नरोकिएको स्मरण गराउँदै अनेरास्ववियु र क्रान्तिकारीले स्ववियु निर्वाचन मिति नजिक आइसक्दा पनि कार्यतालिका सार्वजनिक नगिरनुलाई अत्यन्तै गम्भीर भएको जनाएका छन् । फागुन १४ गतेलाई तोकिएको स्ववियु चुनाव नहुने भएपछि नयाँ मिति तत्काल तोकिनु पर्ने सत्ता पक्षका विद्यार्थी संगठनको माग छ । ती संगठनका नेताहरुले त्रिविका उपकुलपति तीर्थ खनियाँ कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रभावमा परेर निर्वाचनको मिति तोक्न र कार्यतालिका सार्वजनिक गर्न आलटाल गरिरहेको आरोप लगाएका छन् ।
अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले पराजयको डरले नेविसंघ चुनावबाट भाग्न लागेको आरोप लगाए । उनले भने, ’नेविसंघको प्रभावमा कांग्रेस कोटाबाट नियुक्त भएका उपकुलपति खनियाँ चुनाव नगराउने षड्यन्त्रण लागेका छन्।’

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १० : ०३ बजे