२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

संवैधानिक आयोगका अध्यक्षमा सिफारिस पौडेल र सुवेदीको सुनुवाइ मंगलबार मात्र



काठमाडौँ ।
संवैधानिक आयोगका अध्यक्षमा सिफारिस पूर्वसचिव बालानन्द पौडेल र पूर्व अर्थसचिव शान्तराज सुवेदीको सुनुवाइ मंगलबार हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा प्रस्तावित सुवेदीका सम्बन्धमा परेको उजुरी खोल्दै मंगलबार मध्याह्न पुनस् बस्ने बैठकमा सुनुवाइ गर्ने निर्णय गरेको हो ।
कांग्रेस सांसदहरुले भने सुनुवाइ समितिको आइतबारको बैठक पनि बहिष्कार गरेका छन्। राजनैतिक र नैतिक मूल्य मान्यताविपरीत संवैधानिक परिषद्ले विभिन्न आयोगका अध्यक्षहरु सिफारिस गरेको भन्दै कांग्रेसले सुनुवाइ बहिष्कार गर्दै आएको छ ।
सुनुवाइ समिति बैठक बहिष्कारबारे कांग्रेस सांसद पुष्पा भूसालले भनिन्, ’संवैधानिक व्यवस्थाविपरीत आयोगका अध्यक्षहरु सिफारिस गरिएकोले हामी गएनौं।’
संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेतालाई नबोलाइ पाँच संवैधानिक आयोगका अध्यक्षहरु सिफारिस गरी प्रतिपक्षको भूमिकालाई शून्य गराएको र संविधान, ऐन कानुन प्रक्रिया र पद्धति उल्लंघन गरेको कांग्रेसको आरोप छ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गत माघ ६ गतेको संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेकोथियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १० : १७ बजे