२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पशुपति शर्माको गीतले संसदमा पक्ष र विपक्ष बिच दोहोरी



काठमाण्डौ ।
पशुपति शर्माको गीतको विषयले संसदमा पनि प्रवेश पाएको छ । गीतको पक्ष र विपक्षमा संसदमा दोहोरी चेलेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अमरेश कुमार सिंह र सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलबीच दोहोरी चलेको हो । सत्तापक्षीय केही व्यक्तिको आपत्तिपछि शर्माले युट्युबबाट गीत हटाएको विषयमा कांग्रेस सांसद अमरेशकुमार सिंहले संसदमा कुरा उठाएका थिए। उनले सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए। उनको उक्त शैलीबाट आक्रोशित सत्तारुढ दलका सांसद रावलले सिंहलाई नै पुरस्कारको घोषणा गरिदिए। उनले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यही गीत संसद्मै गाउनुभयो भने वहाँलाई मेरो एक महिनाको तलब दिने घोषणा गर्न चाहन्छु।’
उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएको बताउँदै वर्तमान सरकारलाई भने राक्षस, यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका थिए। यसैगरी गीतले देश लुट्न प्रेरित गरेको पनि उनको विमति थियो।
गायक शर्माले अज्ञानतावस यस्तो गीत गाएको ठानेको तर प्रतिपक्ष दलका सांसदले पुरस्कार घोषणा गरेपछि गीत गाउनुको रहस्य बाहिरिएको उनले उल्लेख गरे। व्यङ्ग्य गर्दै उनले भने, ‘सरकारले गीतमा कुनै पनि प्रतिबन्ध लगाएको छैन। भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्।’
बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताउनुभयो ।
सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो ।
शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिँदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गर्नुभयो । रावलले भन्नुभयो, ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’
रावलले शर्माको गीत प्रायोजित रुपमा आएको रहस्य प्रतिपक्षी सांसदले पुरस्कारको घोषणा गर्नुले सत्य बाहिरिएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५ सोमबार ००:००  १० : १५ बजे