२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान



एजेन्सी ।
इस्लामावाद । केही दिनअघि भारतसँगको ‘हवाई लडाइँ’मा पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमान प्रयोग गरेरनगरेको बारे अमेरिकाले अनुसन्धान शुरु गरेको छ ।पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीच भएको हतियार किनबेचको सम्झौता उल्लङ्घन भएको हुनसक्ने भन्दै पाकिस्तानको राजधानी इस्लामावादस्थित अमेरिकी दूतावासले त्यसबारे जानकारी खोजेको जनाएको छ ।

गत बुधबार भारत र पाकिस्तानबीचको हवाई लडाइँमा पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने त्यस लडाईँमा एफ १६ लडाकु विमानको प्रयोग नगरेको बताउँदै आएको छ ।बुधबारको हवाई लडाईँमा पाकिस्तानले भारतको मिग २१ लडाकु विमान खसालेर पाइलटलाई नियन्त्रणमा लिएको थियो । ती पाइलट विङ कमाण्डर अभिनन्दनलाई गत शुक्रबार रिहा गरिएको थियो ।
पाकिस्तानले एफ १६ विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीचको कस्तो सम्झौता उल्लङ्घन भएको हो भन्नेबारे अमेरिकी दूतावासले केही खुलाएको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ८ : ३३ बजे