५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, दुई घाइते, एकको अवस्था गम्भीर



पोखरा ।
आज सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। कास्कीको दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल ल्याइएको छ। अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन्। ६३ वर्षिय इलगिज यागुदिन रूखमा अड्कीएका थिए। उनलाई स्थानीयले उद्धार गरिसकेका छन्। उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए। दुर्घटना परेको पाइलटहरु कुन स्थानबाट उडान भरेर त्यता पुगेको भन्नेबारे कुनै जानकारी नआएको र कुन कम्पनीबाट उडेको जानकारी नभएको कास्की प्रहरीका डिएसपी रबीन्द्रमान श्रेष्ठले बताए। माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ। गम्भीर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भुइँमा खसेका थिए। ‘विजुलीको तारमा छोएर भुइँमा खसेका रहेछन् ,’ लालबहादुर गुरुङले भने, ‘विद्युतको तारमा छोएर झरेरको भएर होला एउटा हात नै जलेको छ। उनलाई गाउँलेले प्रहरीकोमा बुझाएका छन्।’ पोखराको आकाशमा अहिले अनुमति लिएको भन्दा भिन्न ठाउँमा विभिन्न मुलुकका प्याराग्लाइडरहरुले जथाभावी उडान भर्दा दुर्घटना भइरहेको छ। आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १२ : ०४ बजे