२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सार्वजनिक जग्गाको अभावका कारण सोचे जस्तो काम गर्न सकिएनः सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले सार्वजनिक जग्गाको अभावका कारण सोचे जस्तो काम गर्न नसकिएको बताउनुभएको छ । प्रदेश र केन्द्र सरकारबाट आउने बजेटलाई सार्वजनिक जग्गाको अभावले गर्दा कार्यान्वयन गर्न नसकिएको सांसद पन्थीले बताउनुभयो । कपिलवस्तु नगरपालिका वडा नं. १० विकुलीमा शिवमन्दीरको उद्घाटन समारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । जगदीशपुर तालको विकासका लागि प्रदेश सरकारले दुई करोड बजेट छुट्टाए पनि सार्वजनिक जग्गाको अभावले काम हुन नसकेको बताउनुभयो ।

तालमा भ्यू टावर निर्माण लगायतको काम गर्नका लागि प्रदेश सरकारले बजेट छुट्टाए पनि जग्गा नहुँदा समस्या परेको बताउनुभयो । गाउँ समाजको विकास निर्माणका लागि सार्वजनिक जग्गा चाहिने भन्दै यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । विकुलीमा स्थापना गरिएको शिव मन्दिरले धार्मिक सहिष्णुता बढाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष मोहनलाल शर्माले वडाको विकासका लागि प्रदेश सरकार संग धेरै आशा रहेको बताउनुभयो । स्थानीय तहको बजेटले ठुला काम गर्न नसकिने भन्दै प्रदेश सरकार संग सहयोगको आशा रहेको बताउनुभयो । गाउँ समाजका सर्वसाधारणले चन्दा उठाएर मन्दिर निर्माण गरेको भन्दै यसमा वडाले पनि आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महाशिवरात्री पर्वको अवसर पारेर कपिलवस्तु नगरपालिकाको विकुलीमा शिवमन्दीरको उद्घाटन गरिएको हो । झण्डै तीन बर्ष लगाएर मन्दिर निर्माण गरिएको स्थानीय बताउँछन । मन्दिर निर्माण संगै अबका केही बर्षमा बृद्धाआश्रम निर्माणको योजना रहेको गाउँलेहरुले बताएका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  १२ : ४५ बजे