२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टसहित आठविरुद्ध मुद्दा दायर



काठमाडौं ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो।
कञ्चनपुर प्रहरीका अनुसार निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरी हिरासदमा रहदा यातना दिएको हत्या स्वीकार गर्न लगाएको आरोपमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्का त्यस्तै तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरू हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध समेत मुद्दा दायर भएको हो।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीका अनुसार एसपी विष्ट र डिएसपी जिसी बाहेकका ६ जनालाई बुधबार नियन्त्रणमा लिई बुधबारै जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रवक्ता सुवेदीले बताए। मुद्दा दर्ता भएका प्रहरी अधिकारीमाथि अदातको आदेशअनुसार अगाडि बढ्ने सुवेदीको भनाइ छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  ८ : ३४ बजे