२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

विद्यार्थीबाट धेरै शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न डा. केसीको माग



काठमाडौं ।
विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका प्रा डा. गोविन्द केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकका अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकार विरोधी प्रावधानहरू तत्काल खारेज गर्न आग्रह गरेका छन्। बिहीबार शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै केसीले नयाँ शान्ति सुरक्षा विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने भन्दै विधेयकमा भएका नागरिक स्वतन्त्रता सम्बन्धी प्रावधान हटाउन आग्रह गरेका हुन्। यसअघि विभिन्न माग राख्दै १६ पटकसम्म अनशन बस्दै आएका केसीले यसपाली सातबुँदे माग राख्दै सरकारलाई आफ्नो मागको ध्यानाआर्कषण गरेका छन्। उनले एमबिबिएस, बिडिएस र नर्सिङलगायतका कार्यक्रमहरूमा अर्बौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरू गण्डही मेडिकल कलेज किस्ट मेडिकल कलेजलगायतका कलेजलाई कार्वाही गर्नुपर्ने, बलजफ्ती पारित गरिएको चिकित्सा शिक्षा ऐन १५ औं सत्याग्रहको बेला भएको सम्झौताअनुसार नै पुनः संसोधन गर्नु पर्ने, यसअघि आफूसँग भएको सम्झौताअनुसार इलाम र पाँचथर, उदयपुर, डोटी र डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाउनु पर्ने,भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा उभ्याउनु पर्ने र निर्मला पन्तको हत्यारालाई तत्काल प्रकाउ पर्ने लगायतका माग राखेका छन्। केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । विद्यार्थीहरूको माग तत्काल सुनुवाइ गर्दै गण्डकी मेडिकल कलेजबाट विद्यार्थीहरूबाट नाजायज रूपमा असुलिएको अवैध रकम तत्काल ब्याजसहित विद्यार्थीहरूलाई फिर्ता गरियोस्। किस्टलगायत अन्य मेडिकल कलेजहरूमा समेत त्यस्तै ठगी भइरहेकाले त्यहाँका सबै विद्यार्थीसँग अवैध रूपमा असुलिएको अतिरिक्त रकम फिर्ता गर्दै दोषी पदाधिकारीहरूलाई फौजदारी मुद्दालगायत हदैसम्मको कारवाही गरियोस्।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १ : १६ बजे