५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सीके राउतसँगको सहमति देश टुक्रयाउन चाहनेहरु विरुद्धः नेकपा महासचिव पौडेल



रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेलले सीके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् ।
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै पौडेलले सीकेसँगको सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए ।
“राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उनले भने “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ”
महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।”
‘छुटै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको पौडेलको भनाइ थियो । “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन”, उनले भने“सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ५४ बजे