५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महान्यायाधिवक्ता भन्छन्, देश टुक्र्याउन खोजे कानुनी कारबाही हुन्छ



दाङ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानुनी दायरामा ल्याइने बताउनुभएको छ । हालै मात्र नेपाल सरकार र सिके राउतची भएको सम्झौतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको भन्दै पूर्व कानुनमन्त्री समेत रहेका खरेलले सम्झौताविपरीत काम गरे राउत वा उनको समूहलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

मंगलबार उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नवनिर्मित भवन उद्घाटन गर्दै उहाले भन्नुभयो, ‘अहिले उक्त समूहसँग सम्झौता भएपछि सरकार छ कि छैन भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्राउन खोज्छ भने राज्य र अदालतले कानुनी दायरामा ल्याउँछ ।’

उच्च सरकारी वकिल कार्यालय पीडितहरुको अड्डा भएकाले पिडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य थप प्रभावकारी बनाउन उहाले आग्रह गर्नुभयो । ४ करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम २०७४ पुसमा सम्पन्न भएको हो ।

२०७२ असार २४ गतेदेखि निर्माण सुरु भएको भवन २०७४ असारसम्म पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले ६ महिना ढिला भएको थियो । ४ तलाको  भवनमा ४३ वटा कोठा रहेको सहरी भवन डिभिजन कार्यालय दाङका प्रमुख परीक्षित कदरियाले जानकारी दिनुभयो । उच्च सरकारी वकिल कार्यालयसँगै सोही भवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि राखिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  १२ : ३१ बजे