५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भरतपुर बम विस्फोट अपडेटः ६ जना शंकास्पद व्यक्ति पक्राउ, सुरक्षाव्यवस्था कडा बनाइयो



चितवन ।
भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा लिइएकामाथि अनुसन्धान सुरु गरिएकोले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।
’बम पड्किएको इलाका वरपर रातको समयमा सर्च गर्दा केही शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ’नियन्त्रणमा लिएका ६ जनामाथि अनुसन्धान भइरहेको छ। उनीहरुको ठेगाना, अहिलेसम्म कुनै आपराधिक क्रियाकलापमा संलग्न रहेरनरहेको सम्बन्धमा पनि खोजी गरिरहेका छौं। अनुसन्धानकै क्रममा भएकोले नाम खुलाउने अवस्था छैन।’
भरतपुर महानगरको ५ नम्बर वडा कार्यालयमा आज बिहान करिब १२ः३० बजेको समयमा शक्तिशाली सिलिण्डर बम विस्फोट गराइएको थियो।
प्रहरी उपरीक्षक राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेका, घर चर्किएको तथा विस्फोटपछिको आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएको बताए। रातको समयमा कार्यालयमा कोही पनि नरहने भएका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन।
घटनापछि जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ। सुरक्षा चुनौती बढेको भन्दै प्रहरी परिचालन गरिएको राठौरले बताए। ’घटनापछि चितवनका सबै प्रहरी चौकीहरुलाई अलर्ट गराएका छौं’, उनले भने।
घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र विस्फोटपछिको आगलागी महानगरको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए।
घटना कसले गराएको भन्ने सम्बन्धमा भने केही खुल्न सकेको छैन। राठौरले घटना नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले गराएको अनुमान गरिएको बताए।
सरकारले मगलबार साँझ मात्रै नेकपाको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  २ : ०८ बजे