४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

न्यूजिल्याण्ड घटनाः प्रधानमन्त्रीद्वारा दुस्ख व्यक्त



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्ड घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनलाई समवेदना सन्देश पठाउँदै घटनामा निर्दोष व्यक्ति मारिँदा दुस्ख लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उनले निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसङ्गत मान्न नसकिने बताएका छन् । आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।
न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरेर घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ७ : ११ बजे