१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पूर्वप्रधानमन्त्री नेपाल भन्छन्, संस्कृति समाप्त हुँदैन



चितवन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताउनुभएको छ । बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी डा कृष्णदासलाई आज यहाँ नागरिक अभिनन्दन गर्दै उहाँले धर्म संस्कृति मान्छे र देशको पहिचान भएको बताउनुभयो । वरिष्ठ नेता नेपालले नेपालीसँग रहेको अन्तरनिहित शक्तिलाई प्रयोगमा ल्याउन नसकेको तर्क गर्नुभयो ।
आफूमा भएको अन्तरनिहित शक्तिले यहाँको धर्म संस्कृति, परम्परा, संस्कारलाई त्यागेर विदेशीको पछि लागेर नेपाली हुँ भन्नेलाई धिक्कार्नुपर्ने उहाँले बताउनुभयो । धर्म संस्कृति ज्ञानको अखण्ड भण्डार रहेको पनि उहाँले बताउनुभयो । धर्मसँग जोडेर आफूमाथि टिका टिप्पणी भएकोतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “हाम्रो परिवार सम्पन्नशालि परिवार हो, मेरो बुबा पण्डित भएकाले माछा, मासु त चल्दैन फेरी रक्सी टाढाको कुरा हो ।” उहाँले भन्नुभयो, “यस्ता व्यक्तिको बारेमा कुरा सुन्दा खेरी अचम्म लाग्यो, यो कस्तो देश भएछ । कसैले हल्ला चलायो त्यसैको पछिपछि कुद्ने ।”
अभिनन्दित भएपछि डा कृष्णदासले हिन्दू धर्मको आवाज उठाउँदा हिन्दू धर्म के हो सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ब्रम्ह केहो, जीव केहो, हिन्दुत्व केहो जान्न जरुरी छ ।” आफूभित्र हिन्दुत्व जगाउनुपर्ने भन्दै उहाँले यसले सोच र वुद्धिमा फरक ल्याउने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपालसहित अतिथिले डा कृष्णदासलाई २१ किलोको माला र फूलले अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन समारोह अघि डा दासलाई रथयात्रा गरी नगर परिक्रमा गराइएको थियो । (रासस)

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ५ : ०६ बजे