४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जन्मकैदको फैसला



उदयपुर ।

उदयपुरको रौतामाई गाउँपालिका–३, लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या घटनाका दोषीलाई जेल चलान गरिएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेपछि उनीहरु जेल चलान भएका हुन् । अदालतले १६ वर्षीय किशोरको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय किशोरको हकमा १६ वर्ष २ महिना ६ दिन कैद सजायका साथै क्षतिपूर्तिबापत जनही १÷१ लाख भराउन आदेश दिएको छ ।

१७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप ३ वर्ष जेल र ३० हजार जरिबानाको फैसला सुनाइएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या र हातहतियार तथा खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाइएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताउनुभयो ।

पीडित पक्षको मागदाबीबमोजिम अदालतले बालक देखिएको भन्दै ऐनका अनुसार, उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था अनुसार फैसला सुनाइएको आचार्यले बताउनुभयो । त्यसैगरी १६ वर्षीय किशोरले भने हतियार नबोकेका कारण बलात्कार र हत्यासम्बन्धी दुई प्रकारको मुद्दा चलाइएको सापकोटाले जानकारी दिनुभयो । कसुरदार नाबालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको हो ।

२०७५ साल कात्तिक २४ गते अमला जंगलमा कसुरदारद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौका छोपी बलात्कार गरेका थिए । उनीहरु एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्दै आएका थिए । बलात्कार गर्न लाग्दा चिच्याएपछि घाटीँमा थिची हत्या गरेको कुसरदारहरुले प्रहरीको बयानमा बताएका थिए ।  – उज्यालोबाट

 

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ११ : ०५ बजे