२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

अधिनायकवाद आयो भनेर भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत गराएका छन्। काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रित हुन पनि आह्वान गरेका हुन्। प्रधानमन्त्री ओलीले मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतन्त्र समाजवादतर्फ उन्मुख भएको दाबीसमेत गरे। उनले पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रहसमेत गरे। परिषद बैठकमा २५ वर्षीया दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ। सो मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र त्यसलाई समृद्ध बनाएर मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान समेत गरेका छन्। प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरेका छन्। परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए। प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष भित्र पूर्वाधार विकासलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्दै त्यसलाई अव तीव्रताका साथ अघि बढाउने योजना पनि अघि सारे। सरकारले विकास निर्माणको कामलाई विना विवाद अघि बढाउन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  ९ : ११ बजे