२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

प्रदीप गिरी भन्छन्, धान र गहुँको फरक नबुझ्नेलाई कांग्रेसले अर्थमन्त्री बनायो



काठमाडौं ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन् । यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरीले धान र गहुँको फरक नबुझ्ने र आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन ? भन्न नसक्ने पीएचडी होल्डरलाई अर्थमन्त्री बनाएर आफ्नो पार्टीले गल्ती गरेको र यसको असर अर्थतन्त्रमा परेको बताए ।
‘अर्थमन्त्रीको पद सजिलो पद होइन । कांग्रेसको शासनकालमा पनि यसलाई विशेषज्ञको विषय बनाइयो । पिएचडी पास गरेका, बाहिरबाट पढेर आएका र नेपालको हकमा धान र गहुँको फरक नबुझ्ने, आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन ? यो दुइटा कुरा भन्न नसक्ने मानिसहरु हाम्रो सरकारको पालामा मन्त्री भए’, गिरीले कांग्रेसको तत्कालिन नेतृत्वको आलोचना गर्दै भने ।
विपी कोइरालाले अमेरिकासहित पश्चिमाहरुको विकासको मोडल नेपालमा काम नलाग्ने भनेर पटक पटक भनेको स्मरण गर्दै उनले भने, ‘तर विपीको त्यो कथनलाई ठाडै बिर्सिएर हाम्रा प्रधानमन्त्रीजीहरुले आफ्नाहरुमध्ये पीएचडी गरेको मान्छे खोज्नुभयो । त्यो पनि अमेरिका र जर्मनीबाट बनाउनुभयो । फलस्वरुप हामी तथाकथित आधुनिकीकरणको, विकासीकरणको, वृद्धिदरको अंग्रेजीको प्रवेश ग¥यौं । सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशामा लैजानुपरेको छ । वर्तमान दिशामा प्रश्न चिन्ह खडा भएको छ ।’
अत्यधिक ज्यादा उर्जा, भूमी र फर्टिलाइजरमा आधारित अमेरिकी विकास मोडल नेपालले धान्न नसक्ने र जीवनशैली पनि धान्न नसक्ने विपीको विचार रहेको उनले सुनाए ।
गिरीले दिगो अर्थव्यवस्थाको लागि आर्थिक वृद्धिदरको मोह र माया ताडेर वैकल्पिक उर्जामा खर्च लगाउन अर्थमन्त्री युवराज खतिवडालाई सुझावसमेत दिए । २ सय अर्ब डलरको पेट्रोल आयात र डेढ सय अर्ब डलरको खाद्यान्न आयात घटाउनतर्फ लाग्न उनले आग्रह गरे । –नागरिकन्यूजबाट

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  १० : ०२ बजे